वीरगंज, ८ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बिहीवार मनकामना माविलाई १० विकेटले हराउँदै अल्पाइन मावि विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै मनकामना माविले ८ ओभर खेल्दै ४७ रन बनाएको थियो । मनकामनाकी तनिषा कुमारीले २४ र रिया सर्राफले १६ रन बनाएकी थिइन् । प्रतिउत्तरमा अल्पाइन माविले पाँच ओभर खेल्दै ५१ रन बनाएको थियो । अल्पाइनकी प्रजिता मिश्रले ३३ र दिप्तीले ११ रन बनाएको थियो । अल्पाइन माविले १० विकेटले प्रतियोगिता जितेको हो । प्रतियोगिताको वुम्यान अफ दि म्याच अल्पाइन माविकी प्रजिता मिश्र घोषित भइन् ।