रौतहट,२१ जेठ । रौतहट जिल्लाका ग्रामिण भेगमा अवैध मदिराभट्टी सञ्चालनमा हुँदा स्थानीयको जनस्वास्थ्यमा गम्भिर समस्या देखा परेको छ । स्थानीय प्रहरी प्रशासनले अवैध रुपमा सञ्चालन गरेका मदिराभट्टिको नियन्त्रण गर्न नसक्दा अवैध मदिराको उत्पादन र बितरणमा बिगीबिगी बढेको हो । रौतहट जिल्लाको राजपुर,मठिया,महादेवपट्टी, झुनखुनुवा, चन्द्रपुर लगायतका दजनौ ठाउँमा स्थानीय प्रहरी प्रशासनको मिलेमत्तोमा अवैध मदिराको बिक्री वितरण हुँदै आइरहेको छ । अवैध मदिराको खुलेयाम बिक्री वितरण हुँदा अनुमति लिएर सञ्चालनमा रहेका मदिराजन्य पदार्थको बिक्री वितरणमा समेत प्रत्यक्ष असर पर्दै आइरहेको छ । भारतको विहार राज्यमा मदिराजन्य पदार्थको वितरणमा प्रतिबन्ध भएपछि भारतीय सीमावर्ती जिल्ला पूर्वी चम्पारण, पश्चिम चम्पारण लगायतका जिल्लाका मदिराप्रेमीहरु प्नि रौतहटमा आउने गरेका छन् । नेपाल प्रहरीका घुमुवाहरुले मदिराका भट्टी पसललाईलाइन दिएपछि यहाँ जनस्वास्थ्यलाई असर पार्ने मदिराको पनि समस्या भएको हो । बौधीमाई नगरपालिका ४ स्थित इरनवारी अवैध घरेलु मदिरा उत्पादन गर्ने व्यक्ति रामप्रताप अरविन्द जयसवाल, रुपेश यादव लगायतका भट्टी सञ्चालकहरुले इलाका प्रहरी कार्यालय कोपवा पिपरियाको संरक्षणमा अवैध मदिराभट्टी सञ्चालन गर्दै आइरहेको स्थानीय कमल यादवले जानकारी दिए । भारत नेपाल सीमा जोडिएका नेपालका विभिन्न बजारहरुमा मठिया, रामपुरखाप, औरहीया,बन्जरहा,नरकट्टीया,बंकुलबजार लगायतका सीमासँग जोडिएका भारतीय जुवाडे र अपराधिक गतिविधिमा संलग्नहुनेहरुले होटलमा मदिरा सेवन गरेर स्थानीयको चोरी तथा लुटपाटमा संलग्न रहेको स्थानीयहरुले चर्काे गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख नेत्र मणी गिरीले अवैध सञ्चालनमा रहेका मदिरा भट्टीलाई तुरुन्त नियन्त्रण गर्नका लागि आफू मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिएको जानकारी दिनुभयो ।